सयपत्री र मखमली फूल हङकङ निर्यात

चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ। कालिका नगरपालिका-२ पदमपुरका तीनजना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो।

तिहारका लागि नेपालबाट पहिलोपटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए। “आठ सयवटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ। मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ”, बास्तोलाले भने, “चितवनबाट व्यावसायिक रुपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो।” उनका अनुसार रु तीन लाख बराबरको माला निर्यात भएको छ।

उनले अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताए। “अहिले हङकङ निर्यात गरेका छौँ”, उनले भने, “विस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ।”

विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताए। “हामीले गत वर्षदेखि बाह्र महिना नै फूल खेती गर्छौँ। माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ”, उनले भने, “चितवनमा फूल खेतीको सम्भावना राम्रो छ।”

तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गरेका छन्। फूल खेतीबाट यसवर्ष बाह्र हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उनीहरुको अनुमान छ। यसबाट रु १५ लाख आम्दानी हुने अमितले बताए। बजार भए भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ।

“अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ”, उनले भने, “फूल खेतीमा ५० प्रतिशत नाफा हुन्छ।” उनीहरुले फूल खेती सुरु गरेको चार वर्ष भयो।  कोरोना माहामारीपछि फूल खेती सुरु गरका तीन दाजुभाइले जग्गा भाडामा लिएर खेती गरेका हुन्।

भारतको कलकत्तादेखि रु एक लाख बराबरको बीउ ल्याएर तीन बिघामा खेती सुरु गर्नुभएका उहाँहरुले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गरेका हुन्।

कात्तिक २४ गते राति काठमाडौँबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिनुभयो। हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले बताए।

“म विदेशमा च्याउ निर्यात गर्दै आएको छु। सो क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ”, उनले भने, “तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिङ्गापुर, मलेसिया, दुबई र कतारबाट समेत सयपत्री फूल र मालाको माग आएको छ।”

फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उनको भनाइ छ। यहाँबाट आइसबक्समा ‘प्रिकुलिङ’ गरेर जहाजमार्फत फूल विदेश पठाउने उनले बताए।

चितवनमा यसवर्ष तिहारको समयमा फूल खेती गर्ने किसान बढेका छन्। कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि विरुवामा अनुदान समेत दिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए।

“यहाँको फूल हङकङ निर्यात हुनु हाम्रा लागि खुसीको कुरा हो”, उनले भने, “किसानलाई प्रोत्साहन दिने कुरालाई निरन्तरता दिन्छौँ।”

नगरपालिकाले उत्पादन र आयआर्जनलाई जोडेर नीति निर्माण गरेको प्रमुख रेग्मीले बताए। “गत आर्थिक वर्षदेखि फूलखेती प्रवर्द्धन गर्न विरुवामा अनुदान दिने गरेका छौँ। एउटा विरुवा उत्पादन गर्न साढे दुई रुपैयाँ लाग्दो रहेछ। त्यसमा ५० प्रतिशत अनुदान दिइएको छ”, उनले भने। अगामी वर्षदेखि अन्य बालीलाई जस्तै फूल खेतीलाई प्रोत्साहन गर्ने उनले बताए।

चितवनमा ५० बिघामा फूलखेती भएको छ। चितवनमा तिहारका लागि फूल खेती गर्ने करिब एक सय जनाको हाराहारीमा किसान छन्।