साफ च्याम्पियनसिपको फाइनलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि आजको फाइनल खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रतिबन्धित भएका छन् । प्रशिक्षक अलमुताइरीले नेपाल र भारतबिच फाइनल खेल गुमाउने भएका हुन् । प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको छ ।

आज च्याम्पियनसिप २०२१ को उपाधिको लागि आज नेपाल र भारत भिड्दै छन् । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुदैँछ ।

तर, साफले नेपाली टोलीका प्रशिक्षक अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको छ।

दक्षिण एसियाली फुटबल (साफ) ले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ। खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ।

यसैगरी भारतका प्रशिक्षक इगोर स्टिमाचले फाइनलमा प्रतिबन्ध भोगेका छन्। स्टिमाचले माल्दिभ्सविरुद्ध भएको खेलमा दुई पहेंलोसहित रातो कार्ड नै पाएका थिए। स्टिमाचसँगै अलमुताइरीलाई पनि प्रतिबन्ध गरेकाले नेपाल र भारतले मुख्य प्रशिक्षकबिना नै फाइनल खेल खेल्नुपर्ने भएको छ।

यस्तै यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ। एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको छ। तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन।

त्यस्तै यसअघि प्रतियोगिताको यसै नियम अनुसार नेपालका स्ट्राइकर अञ्जन विष्टले पनि फाइनल खेल गुमाउने भएका छन् । अन्जनले भने भारतविरुद्ध खेलको अन्तिम समयमा पहेंलो कार्ड पाएका थिए । त्यस्तै बंगलादेशविरुद्ध खेलको ४४ औं मिनेटमा पहेंलो कार्ड पाएका थिए । क्रसमा आएको बललाई हातले हान्न खोजेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिएका थिए । खेलको ८६ औं मिनेटमा अन्जनलाई नै पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए ।

आज फाइनल खेलमा दुवै टिम उपाधि जित्ने दाउमा छन् । भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको हो ।

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा पुर्णरुपमा हाबी रहेको भारतले नेपालविरुद्ध १५ खेलमा जित हात पारेको छ भने ५ खेल बराबरी खेलेको छ । दुई खेलमा भने नेपाल विजयी भएको छ । यसै प्रतियोगिताको लिग चरण‍को खेलमा पनि भारतसँग नेपाल १-० ले स्तब्ध बनेको थियो ।

नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीच २८ वर्षपछि फाइनल खेल तय भएको हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले बाजी मारेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार