परराष्ट्रमन्त्री डा. नारायण खड्काले सडकमा होहल्ला गरेकै भरमा स्थानीय निकायको चुनावको मिति घोषणा नहुने स्पष्ट पारेका छन् ।
शनिवार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको प्रशासकीय भवन र १५ शय्याको आधारभूत अस्पतालको शिलान्यास गर्दै मन्त्री खड्काले कसैको दबाबका आधारमा नभएर राज्यका ऐन नियम अनुसार स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने बताएका हुन् ।
उनले स्थानीय चुनावका विषयमा सरकार र निर्वाचन आयोगबिच छलफल भएको र छिटै मन्त्रीपरिषद्ले मिति तोक्ने बताए । त्यस्तै मन्त्री खड्काले एमाले आफु सरकारमा हुँदा एमसीसी राष्ट्रको हितमा रहेको भन्दै सांसदबाटै पारित गराउन लागि परेको तर प्रतिपक्षीमा आएपछि अनावश्यक विरोध गरेको बताए । एमसीसी सबैको सहमतिमा मात्र पास हुने पनि उनले बताएका छन् ।
चौदण्डीगढी नगरपालिकाले ५ करोड ७६ लाखको लागतमा घेराबेरा, लिफ्ट सहितको साढे तीन तले भवन निर्माण सम्पन्न गरेको हो । त्यस्तै अस्पताल साढे १२ करोडको लागतमा आर्थिक वर्ष ०७९÷०८० भित्र सम्पन्न हुने गरी निर्माण सुरु गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।














