बक्यौता विवादमा विद्युत् काटिएका २३ उद्योगको लाइन जोडियो

नेपाल विद्युत् प्राधिकरणले २३ वटा उद्योगमा काटिएका विद्युत् लाइन जोडिदिएको छ ।

नेपाल विद्युत प्राधिकरणका शुक्रबार मध्यरातसम्म यसअघि बक्यौता विवादमा लाइन काटिएका सबै उद्योगमा लाइन जोडिएको हो ।

विगतमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी प्रयोग गरिएको बिजुलीका प्रिमियम बक्यौता नतिरेको भन्दै प्राधिकरणले ती उद्योगमा लाइन काटिदिएको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गर्दै उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।

प्राधिकरणका अनुसार उद्योगहरूबाट २०७२ माघअघिको ९७ करोड रुपैयाँ प्रिमियम महसुल लिन बाँकी छ ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब र त्यसयताको ८ अर्ब प्रिमियम शुल्क लिन बाँकी छ । यसबाहेक २५ प्रतिशत जरिवाना र १५ प्रतिशत ब्याजसमेत गर्दा अहिले ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विद्युत् प्राधिकरणको भनाइ छ ।