वीरगञ्जमा गोली चल्यो, लाल मोहम्मदको हत्यामा संलग्न आरोपी प्रहरीको नियन्त्रणमा 

काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न एक आरोपीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ ।

खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी व्यवसायी सुरेश केडियाको अपहरण प्रकरणमा दुई वर्ष जेल बसेर छुटेका थिए ।

३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली लागेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।

उनी मारिनुअघि नेपाल प्रहरीसँग मोहम्मदबारे भारतीय पक्षले चासो राख्दै आएको थियो । उनको हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको प्रहरीको भनाइ छ । उनी घटना भएका बेला गोठाटारमै भएको समेत आशंका छ ।