काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा ‘अर्ली इलेक्सन’को बारेमा बहस सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध जारी राखेपछि गठबन्धनले ‘अर्ली इलेक्सन’को विकल्पबारे छलफल सुरु गरेको हो । अर्लीइलेक्शनको विषयमा गठबन्धनका सबै दल सकारात्मक देखिएको स्रोतले बताएको छ । तर यस विषयमा व्यापक छलफल भने नभएको स्रोतको भनाइ छ ।
यता गठबन्धनका नेताहरुले सार्वजनिक रुपमा नै अर्लिइलेक्शनको कुरा उठाउन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरेपछि पार्टी नै फुटाएर हिँडेका माधव नेपाल आफैँ संसद् विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् । एमालेले संसद निरन्तर अवरोध हुने भए संसद् भंग गरेर चुनावमा जानुपर्ने उनको भनाइ छ। संसद् चल्न नदिएर संसदलाई पंगु बनाइएको भन्दै उनले ओलीको बितण्डालाई सामना गर्नका लागि संसद् भंग गर्नुपर्ने बताए। संसद् भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने उनको टिप्पणी छ।
एमालेले अवरोध जारी राखे संसद विघटन गर्ने माधव नेपालको चेतावनी
यसअघि शनिबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले बोलेको भाषाबाट सहजै बुझ्न सकिन्छ। निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै नेता पौडेलले भनेका थिए, ‘देशलाई अलमलमा राख्न नदिन पनि संसद् नचले नयाँ संसदका लागि निर्वाचनमा छिटो जानुपर्छ। मैले त प्रधानमन्त्रीलाई भनिसकेँ–चाँडै संसद् सुचारु गर्नुप¥यो वा चाँडै संसद् ल्याउनुप¥यो।’
यस्तै, महामन्त्री थापाले पनि एमालेले संसद् चल्न दिएन भने मंसिरअघि नै संघीय संसदको निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक शानदार ढंगले चलाउने बताए ।
२०७४ सालमा गठन भएको प्रतिनिधिसभालाई दुई पटकसम्म विघटनको प्रयास गरियो । दुवै पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । सोही अनुसार राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ भन्दै पुनर्स्थापना गरिदिएको थियो ।
अहिले उनै ओली प्रमुख प्रतिपक्षी दलको नेता छन् । प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा लगातार अवरोध गर्दै आएको छ । एमालेका नेताहरु अहिलेको संसदले निकास दिन नसक्ने दाबीसमेत गर्दै आएका छन् ।
यो अवस्थामा सत्तारुढ दलका नेताहरुको पछिल्ला अभिव्यक्तिले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल पूरा हुनेमा आशंका उब्जिएको छ । उनीहरुको भनाइले प्रतिनिधिसभा विघटनको तेस्रो प्रयास हुने प्रस्ट संकेत गरेको छ ।
सत्ता गठबन्धनले प्रतिनिधिसभाको निर्वाचनबारे छलफल चलाइ रहेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भएको हुनसक्ने आशंका व्यक्त गर्छ। प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ‘चुनाव गर्नका लागि हो कि भत्काउनका लागि हो? स्थानीय तहको चुनावको घोषणा गठबन्धनको चाहनाले भएको होइन। अहिले पनि उहाँहरू प्रतिनिधिसभाको चुनावसहित विभिन्न बहानामा खोजी राख्नुभएको छ।
निर्वाचनमा जान खोज्दा प्रतिगमन भन्नेहरूले अहिले अचानक यस्तो कुरा गरेपछि षडयन्त्रको गन्ध आएको उनको भनाइ छ। उनले संविधानअनुसार नै निर्वाचन गरेर जानुपर्नेमा जोड दिए।