प्रधानमन्त्री शेर बहादुर देउवाले बाढी र पहिरोका कारण विच्छेद भएका सडक सञ्जालको तत्काल मर्मत गरि सहज आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सिंहदरबारमा मंगलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा प्रधानमन्त्री देउवाले बाढीका कारण पुलहरू बगाएको र सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको भन्दै तत्काल यान्त्रिक पुल बनाएर सहज रूपमा आवतजावतको व्यवस्था मिलाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशन दिएका हुन् ।
त्यस्तै बाढी र पहिरोका कारण समस्यामा परेका सर्वसाधारणलाई आवास लगायत खाद्यान्नको उचित प्रबन्ध गर्न पनि निर्देशन प्राप्त भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनले अझै मनसुनको समय बाँकी रहेको र आउन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्रोत साधन सहित चुस्त अवस्थामा रहने निर्णय भएको बताए । मनाङ, मेलम्ची लगायतका स्थानमा तत्काल चार वटा यान्त्रिक पुल बनाउनका लागि नेपाली सेनासहितको टोली परिचालन गर्ने निर्णय बैठकले गरेको उनले जानकारी दिएका छन् ।
गोरखा, मनाङ, बाजुरा लगायतका स्थानमा तत्काल खाद्यान्न, त्रिपाल, औषधी लगायतका सामाग्री तत्काल लैजाने निर्णय पनि बैठकले गरेको छ । बैठकमा मनसुनयता प्राकृतिक प्रकोपबाट भएका क्षतिका बारेमा छलफल भएको उनले बताए ।














