वामदेव गौतमको राष्ट्रियसभा सदस्य पद नजाने

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमाले छाडे पनि उनको सांसद पद नजाने भएको छ । गौतम कुनै पनि दलबाट मनोनीत नभएका कारणले पार्टी छोडे पनि उनको पद सुरक्षित रहने छ ।

गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन् । २०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका हुन् ।  गौतमलाई मनोनयन गर्नेबेलामा तत्कालीन नेकपा नेतृत्वको सरकार थियो । अहिले उक्त पार्टीको अस्तित्व छैन । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीको एकता भंग गरिदिएको थियो । तर राजनीतिक दलबाट निर्वाचित सांसदहरूले दल त्यागेमा उनीहरूको पद जान्छ ।

गौतमले अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका हुन् । राजीनामा पत्रका गौतमले एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् ।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताए थिए । २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् । उनी एमालेबाट राष्ट्रियसभाका सदस्य छन ।