संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले पनि मन्त्रालयको सबै काम चुस्त ढंगले गर्न नसकेको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री जोशीले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि व्यवधान खडा गरेको बताए ।
मन्त्री जोशीले मुलुक संघीयतामा गएको लामो समय हुदा पनि आवश्यक ऐन समयमा नै ल्याउन नसक्दा संघ र प्रदेशको कर्मचारी व्यवस्थापन गर्न कठिन भएको बताए ।
स्थानीय तहमा प्रमुख प्रशासनकीय अधिकृत पठाउदा आफुले निकै दबाब महशुस गरेको उनको भनाइ छ । उनले निश्चित मापदण्ड नहुँदा स्थानीय तहमा खटाएका कर्मचारी कार्यस्थलमा जान नखोज्ने र गएका कर्मचारीहरुलाई पनि हाजिर गर्न नदिने प्रवृतिहरु देखापरेको धारणा राखे ।
उनले प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायको अनुरोधमा सरकारबाट कर्मचारी व्यवस्था गरिँदै आएको जानकारी दिए ।














