जाजरकोटमा भूकम्प पीडित बसेको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते

भूकम्प पीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा जाजरकोटमा चार जना घाइते भएका छन् ।

कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथिबाट पहिरो खसेको हो । गएराति ८ बजे उक्त घटना भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

उक्त घटनामा चार जना घाइते भएका छन् । सोही ठाउँका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया घाइते भएका हुन् ।

डिएसपी पाण्डेका अनुसार घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ । उनको होश आउने जाने भइरहेको छ भने निरमाया थापाको दुवै खुट्टामा चोट लागेको छ । पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको थियो । ‘निरमायाको पहिले पनि खुट्टा अपरेशन गरेको रैछ । अहिले अर्को खुटमा पनि चोट लागेपछि हिँड्नै नसक्ने भएकी छन्’, उनले भने ।

घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर गएको उनले जानकारी दिए । गम्भीर घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत सुर्खेत लगिने उनले बताए ।

गतवर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो । उक्त भूकम्पले कुशे गाउँपालिका ७, ८, ९ लगायतका वडामा क्षति पु-याएको थियो । बसेको घर भूकम्पले भत्काएपछि गाउँलेहरु अस्थायी टहरामा बसिरहेका छन् ।