काठमाडौं । काठमाडौंको २ नम्बर गल्लीमा भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित २ नम्बर गल्लीमा छिमेकी छिमेकीबीच विवाद भएको थियो । त्यसक्रमा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षका अनित पुजारीको मृत्यु भएको छ ।
घटनामा स्थानीय सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी, अमृत पुजारी घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बुधबार अन्दाजी अपराह्न तीन बजेर ५० मिनेट जाँदा पोडेटोलमा छिमेकी-छिमेकी बीच विवाद भएको थियो। सोही क्रममा धारिलो हतियार प्रहार हुँदा अनितको मृत्यु भएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ को सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी तथा २२ वर्षीया सञ्जाली पुजारी छन्। उनीहरूका साथबाट खुकुरी एक थान बरामद भएको छ। उनीहरू प्रहरी वृत्त, लैनचौरको नियन्त्रणमा छन्।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी बृत्त लैनचौरले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













