गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका डीआईजी डा मनोज केसीको दुई महिनामै गरिएको सरुवाको निर्णयको बचाउ गरेका छन् ।
बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा बोल्दै गृहमन्त्री लेखकले केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका हुन् ।
आजको बैठकमा राष्ट्रिय सभाका नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले केसीको सरुवाबारे प्रश्न उठाएका थिए । जवाफमा लेखकले केसीलाई झनै राम्रो ठाउँमा खटाएको जिकिर गरे ।
‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ । बढुवा पनि हुन्छ । निरन्तरको प्रक्रिया हो । सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर । तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ,’ उनले भने, ‘जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो । र योग्यतम ठाउँमा पुग्नुभएको छ । किनभने प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो नि । प्रहरी राम्रो बनाउनु पर्यो ।’
सरुवा गरेर डीआईजीको ठाउँमा डीआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा लिन उनले आग्रह गरे । ‘राम्रो प्रहरीलाई, राम्रो तालिम दिनका लागि, राम्रो मान्छे पठाउँदा के समस्या भयो ? अनि फेरि जुन ठाउँबाट उहाँ जानुभयो, डीआईजी गएर इन्सपेक्टर त आएको होइन होला नि,’ उनले भने, ‘अर्को डीआईजी आएको होला नि । त्यसो भएको हुनाले यसलाई सामान्य प्रक्रियाका रुपमा लिइदिनु हुन म हात जोडेर प्रार्थना गर्छु ।’
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका केसीलाई सरकारले गत साउन ९ गते सरुवा गर्दै उनको ठाउँमा डीआइजी राजन अधिकारीलाई ल्याएको थियो । भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापा पक्राउ परेपछि केसीलाई सरुवा गरेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।














