मणि थापा एमालेबाट पदमुक्त भएका छन् । नेकपा (एमाले) को स्थायी कमिटी रहेका उनी पदमुक्त भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। एमालेले उनलाई स्थायी कमिटीबाट हटाएको हो । बिहीबार बसेरा होटलमा बसेको सचिवालय बैठकले स्थायी कमिटीको रिक्त पद पूर्ति पनि गरेको छ । हिजो बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर एमाले फर्किएका मुकुन्द न्यौपानेलाई स्थायी कमिटी सदस्य बनाएको छ ।
त्यस्तै, लीलानाथ श्रेष्ठ स्थायी कमिटी सदस्य मनोनीत भएका छन् । हिजोको बैठकले स्थायी कमिटी सदस्य गुरु बराललाई पार्टीको उपाध्यक्ष मनोनीत गर्यो । उनी बढुवा भएपछि पद रिक्त भयो । रिक्त पदमा दुई नेता स्थायी कमिटीमा बढुवा भए । “पद रिक्त भएपछि हिजो दुई नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीति गरेको हो,” प्रचार विभाग प्रमुख गौतमले भने ।
नेकपा विभाजन भएपछि माओवादीमा नफर्किएका थापा पार्टीमा केही समययता निष्क्रिय थिए । १४ महिनाअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारीबाट दिएको थियो । त्यतिबेला उनी बिदामा थिए । आफ्नो कामका कारण विदामा बसेको प्रतिक्रिया दिएका थिए । अहिले भने उनलाई एमालेले बिदा गरेको हो ।
एमालेका नेताहरूका अनुसार मणि थापा चुनाव अघिदेखि नै सक्रिय थिएनन् । मंसिर ४ गतेको निर्वाचनमा उनी गृहजिल्ला प्युठानका दुई वटा जति सभामा सहभागी भए । प्युठान नगरपालिकाका ८, ९, १० वडाका घरदैलो सभामा बोलाए पनि उनी गएनन् । मिसन ग्रासरूट’ मा उनको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश तोकिएको थियो। त्यतिबेला वैशाखदेखि सुरू हुने ‘राष्ट्रका लागि संगीत अभियात्रा’लाई देखाएर थापा कार्यक्षेत्रमा गएका थिएनन्।














