घर नजिकैबाट बेपत्ता ३० महिने बालकको दुई किमि टाढा शव भेटियो

नवलपरासी पूर्वको कावासोतीमा हिजोदेखि हराइरहेका एक नाबालकको शव भेटिको छ ।

कावासोती ४ हसौरा निवासी रामजी ढुंगानाका ३० महिने नाती सुवासको घरबाट झण्डै दुई किमि तल हसौरा खोलाको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरका प्रहरी नायव उपरीक्षक डीएसपी वेदबहादुर पौडेलका अनुसार नाबालकलाई घर नजिकैको कुलोले बगाउँदा मृत्यु भएको अनुमान गरिएको छ ।

‘घटनाको सम्बन्धमा हामी थप बुझ्दै छौँ,’ डीएसपी पौडेलले भने, ‘घटनास्थलमा पुगेर अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ ।’

मंगलबार बिहान घर नजिकै साइकलमा खेलिरहेको उनी एक्कासी बेपत्ता भएका थिए । ‘घर नजिकै सिँचाइको सिमेन्टेड कुलो रहेछ । त्यही कुलोले बगाउँदा बालकको मृत्यु भएको हो कि भन्ने अनुमान छ,’ डीएसपी पौडेलले भने ।

हिजो दिनभरी खोज्दा पनि फेला नपरेका बालकलाई आज बिहान करिब ९ बजे प्रहरी र स्थानीयले मृत फेला पारेका हुन् ।