बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएकाहरुको उद्धार भएको छ । घाइतेमध्ये गम्भीर घाइते तीन जनालाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । उनीहरुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय जोगबहादुर बुढाको घर मङ्गलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पु¥याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए ।
अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए ।
गम्भीर घाइते ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीय संगीता बुढालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको हो ।
यस्तै २६ वर्षीय ओमप्रसाश पुन, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय सशीराम विक र ९ वर्षीय ज्ञाने बुढालाई उपचारका लागि बुर्तिबाङ लगिएको छ ।
आरुपाटामा मंगलबार खसेको पहिरोमा पुरिएर घरधनी जोगबहादुर बुढा, छिमेकी ७० वर्षीया मोतीदेवी कामी, सिर्जना विकको ६ महिनाकी छोरी सीता विक, ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा र ११ वर्षीया सीता पुनले पहिरोमा पुरिएर ज्यान गुमाएका हुन् ।
मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको सहायक सीडीओ बरालले जानकारी दिए । बडीगाडमा मंगलबार वडा नम्बर ९ मा २ र वडा नम्बर १० मा ६ जनाको पहिराले ज्यान लिएको हो ।













