अध्यक्ष प्रचण्डले गरे चणिकलाल तामाङलाई सम्मान

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् । उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन् ।

तामाङले हिजो शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए ।

टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ ।

सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफै पौडेर उत्रिएका थिए भने राजकी छोरी चार वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ ।

अध्यक्ष प्रचण्डले दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताए ।

काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुन् । उनका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गरेका थिए ।

सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताए ।