काठमाडौं उपत्यकासहित थप केही स्थानबाट यो वर्षको मनसुन बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट यसपालिको मनसुन बाहिरिएको छ ।
बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट पनि बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार, सुदूरपश्चिमसहित कर्णालीका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट यही असोज २० (६ अक्टोबर) गते मनसुन बाहिरिएको थियो ।
“मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ,” मंगलबार महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ, “मौसम पूर्वानुमान महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ ।”