केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न माग

नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्ने सरकारसँग माग गरेको हो । महासंघले चीनसँगका नाकाबाट आयात हुने सामान सहज रूपमा नेपालभित्र नभित्रने र चीन जान नपाउँदा नेपाली व्यवसायीहरुको अर्बौं रुपैयाँको सामान जोखिममा परेकाले व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको हो ।

महासंघले व्यवसायीहरुलाई सहजरूपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो । महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरू मात्रै जान पाउने सिन्डिकेट हटाएर सबै व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताए ।

उनले धेरै सामान चीनबाट आयात हुने तर आफैँ जान नपाउँदा व्यवसायीहरू समस्यामा रहेको बताए ।