राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय राजनीतिक दलहरूले आम नागरिकको इच्छाविपरित विदेशी शक्तिहरूको दबाबमा गरेको आरोप लगाएका छन्।
आईतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङदेनले विदेशी दबाबमा धर्मनिरपेक्ष राष्ट्र बनाइएको जिकिर गरे। ‘दलहरूले त विदेशीको हस्तक्षेप, चाहना र दबाबमा वा आफ्नो राजनीतिको रोटी सेक्न नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनायो होला,’ लिङ्देनले भने।
दलहरूले धर्मलाई राजनीतिसँग जोडेर आफ्नो राजनीतिक रोटी सेक्ने काम गरेको आरोप लगाए। उनले राप्रपाले हिन्दूराष्ट्रको पक्षमा वकालत गर्नु राजनीति नभएको जिकिर गरे।
‘हिन्दूधर्ममाथि हस्तक्षेप कसको कारणले भयो? धर्म र पार्टीगत राजनीतिलाई दोहो¥याउने काम कसले ग¥यो? राजनीतिक दलहरूले दुई जना पनि सुन्न नसकेको धर्म निरपेक्षताको कुरा गरे,’ लिङ्देनले भने, ‘निरपेक्ष र सापेक्ष त हामीले पढेका थियौँ तर धर्म निरपेक्ष भनेको हाम्रो समाजले अपवादको रुपमा बाहेक सुन्न पाएको थिएन।’
नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने राप्रपाको मागलाई राजनीति भन्न नमिल्ने बताउँदै कसैले यसलाई राजनीतिक विषय मान्छ भने सनातन धर्मावलम्बीहरू राजनीतिमा आउनुपर्ने बताए। उनले हिन्दूधर्म नरहे नेपालको स्वाभिमान र अस्तित्व नै संकटमा पर्ने दाबी गरे।
‘रातारात देश हिन्दूराष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र भयो। यसरी हिन्दूराष्ट्रमाथि कसले हस्तक्षेप गरे? हिन्दूधर्मलाई राजनीतिसँग कसले लाद्यो त? दलहरुले लादे,’ उनले थपे, ‘त्यसकारणले हामीले नेपाल धर्म निरपेक्ष नभई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्नु राजनीति होइन।’
उनले नेपालको विविध संस्कृति र परम्परालाई सनातन हिन्दूधर्मले मात्र एकाकार र सहिष्णुताको मार्गमा डो-याउने जिकिर गरे।
















