एसीसी महिला यु-१९ एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । निरन्तरको वर्षाले मैदान प्रभावित बनाएपछि खेल ‘नो रिजल्ट’मा पुगेको आयोजक मलेसिया क्रिकेट एसोसियसनले जनाएको छ । यससँगै नेपाल र भारतले अंक बाँडेका छन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् । त्यस्तै अलिशा कुमारी यादव २० रनमा अविजित रहिन् । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
भारतका लागि परुनिका सिसोडियाले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै आन्नदिता किशोर र मिथिला भीले १/१ विकेट लिए ।
९५ रनको विजय लक्ष्य पछ्याएको भारतले ३.१ ओभरमा बिना विकेट क्षति २८ रनमा खेलिरहेका बेला वर्षाले प्रभावित बनाएको थियो ।