ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु भएको छ । आजदेखि यी दुई बैंकले ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गरेका हुन् ।ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले गत असारमा मर्जर सम्झौता गरेका थिए । मर्जर सफल भएसँगै नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।
दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारण सभाले एकापसमा गाम्भेरगाभिने ९मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो । राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट आगामी आजदेखि एकीकृत कारोबार सुरु भएको हो ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभाराम्भ समारोहको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब भन्दा बढि र कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुगेको छ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहेका छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक भएको छ ।










