काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको पहिलो कार्यकाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नदिँदा गल्ती भएको स्वीकार गरेका छन् । सोमबार धुम्बाराहीमा प्रचण्डसँग भएको भेटमा उनले सो कुरा बताएका हुन् ।
प्रचण्ड निकट स्रोतका अनुसार देउवाले प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री नदिँदा गल्ती भएको भन्दै विश्वासको मत दिने आश्वासन दिएका थिए ।
देउवाले पदाधिकारी बैठकमा पनि उक्त कुराको प्रस्ताव गरेका छन् । उनले पार्टी पहिलो भएर पनि प्रतिपक्षमा बस्नुपर्दा केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्ने अवस्था आएको भन्दै विश्वासको मत दिन प्रस्ताव गरेका छन् । तर, केही नेताले विश्वासको मत दिनु गम्भीर त्रुटि हुने भन्दै प्रस्तावको विपक्षमा मत राखेपछि सर्वसम्मत निर्णय हुन सकेन ।
सभापति देउवाले विश्वासको मत दिनैपर्ने अडान राखेपछि विपक्षमा उभिएका पदाधिकारीहरूले त्यस्तो निर्णय केन्द्रीय कार्यसमितिबाट मात्र लिनुपर्ने अडान राखेपछि पदाधिकारी बैठकले निर्णय लिन नसकेको एक पदाधिकारीले जानकारी दिए ।















