पश्चिम नेपालमा वर्षा र हिमपात, दिउँसोसम्म देशका धेरै ठाउँमा पानी पर्ने

Image

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हिउँदे वर्षा शुरू भएको छ । सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा रातिदेखि हल्का वर्षा भएको हो । अहिले पनि पश्चिमका केही स्थानमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

पानी पार्ने प्रणाली पश्चिमबाट विस्तारै पूर्वतिर सर्दै छ । पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बेलुकासम्म काठमाडौंसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

आज दिउँसो पनि सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कर्णाली र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ।

साथै अहिले बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

हुस्सु र कुहिरोको कारण बढ्ने चिसोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।