विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा यस वर्षको इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। जात्राका लागि रथ निर्माण, सरसफाइ, सम्पदा क्षेत्रको रङरोगन तथा आवश्यक व्यवस्थापनका काम तीव्र रूपमा भइरहेका छन्।
दरबार क्षेत्रस्थित काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायतका सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ।
उनका अनुसार इन्द्रजात्रालाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न ३१ वटा गुठी खलः व्यवस्थापन समितिसँग आबद्ध छन्। जात्राको व्यवस्थापन तथा सुरक्षाबारे सम्बन्धित निकायसँग छलफलसमेत भइसकेको उनले बताए। राष्ट्रिय पर्वका रूपमा मनाइने इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकसमेत ठूलो संख्यामा आउने भएकाले उनीहरूको सहजताका लागि आवश्यक व्यवस्था मिलाइएको समितिले जनाएको छ।
विशेषगरी नेवार समुदायमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको इन्द्रजात्रा काठमाडौं उपत्यकाका साथै ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका क्षेत्रमा परम्परागत रूपमा मनाइन्छ। जात्राको प्रमुख विधिअन्तर्गत हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइन्छ। यसलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ भने लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा समेत यसलाई महत्त्वपूर्ण मानिन्छ।
इन्द्रजात्राका अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ।
लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक प्रदर्शन गरिन्छ। भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार र पुलुकिसी नाच इन्द्रजात्राका प्रमुख आकर्षण हुन्। पुलुकिसी नाचलाई देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा लिइन्छ।
लिङ्गो ठड्याइएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको विधिवत् समापन गर्ने परम्परा रहेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ।














