अमेरिकी सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सांसद खतिवडाको माग  (भिडियो)

Image

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद खतिवडाले सरकारसँग यस्तो आग्रह गरेका हुन् । अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा हुने गरेको भन्दै उनले सहयोग रकम नेपालमा कति आएको हो त्यसबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

उनले एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम भएको तर्क पनि गरे ।

सासंद खतिवडाले भने, ‘एनजीओ र आइएनजीओका नाममा आएका रकम कति छन्, त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले । भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस् ।’

उनले अमेरिकाले गैरकानुनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए । उनले अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेर मात्र गैरआवासीय फिर्ता गर्नुपर्ने बताए ।

५० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गरेर अमेरिका पुगेका नौ नेपाली बुधबार मात्रै अमेरिकाबाट फर्काइएका थिए । मानव तस्करको फन्दामा परेका उनीहरू १४ वटासम्म मुलुक पार गर्दै अमेरिका पुगेका थिए ।