ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्ले र भारतलाई जाने बताएका छन् ।
संसद्मा बिहीबार सांसदहरूको प्रश्नको जवाफ दिँदै खड्काले भारतसँग जोड्ने पूर्वाधार तयार पार्न काफ्लेको महत्त्वपूर्ण योगदान रहेको बताए ।
“आन्तरिक माग उत्पादनले धान्न नसकेपछि लोडसेडिङ गर्नुपर्ने बाध्यता परेको थियो,” खड्काले भने, “भारतबाट विद्युत् खरिदको विकल्प थिएन । पूर्वाधारको रूपमा रहेको ट्रान्समिसन लाइन निर्माण माननीय ज्ञानेन्द्रबहादुर कार्की र एमडी मुकेश काफ्लेको योगदान महत्त्वपूर्ण थियो ।”
लोडसेडिङ हटाउने श्रेय हालका कार्यकारी निर्देशक घिसिङले लिएर हिँडेको भन्दै खड्काले असन्तुष्टि जनाए । केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा भारतबाट बिजुली खरिद गर्ने निर्णय भएको स्मरण गराउँदै मन्त्री खड्काले लोडसिडङको अन्त्य एकजना व्यक्तिले मात्रै नगरेको बताए ।
उनले भने, ‘उहाँ एक जना (कुलमान घिसिङ) व्यक्तिले मात्रै गरेको होइन । कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला । त्यसमा पनि छलफल गरौं । उहाँले राम्रो गरेको काममा कन्जुस्याइँ कहाँ गरौं भनेको छ र । उहाँलाई धन्यवादै दिन सकिन्छ । यहाँ उठेका प्रश्नहरू मात्रै मैले निवेदन गर्न चाहेको हुँ । त्यस्तो होइन है माननीयज्यूहरू । यो भ्रममा नपालौं भन्न चाहेको हुँ ।’














