अविरल वर्षापछिको बाढी पहिरोबाट २१ जनाको मृत्यु, ५ जना बेपत्ता

Image

अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानसहितका घटनामा २१ जनाको मृत्यु भएको छ । यस्तै पाँच जना बेपत्ता भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले असोज ८ गतेदेखि आइतबार साँझसम्मको अवधिमा म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेतलगायत जिल्लामा गरी २१ जनाको मृत्यु भएको जानकारी दिए ।

प्रधानमन्त्री शाहले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले विपद्मा परी घाइते भएका पाँच जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए।

प्रधानमन्त्री शाहका अनुसार हालसम्म देशभर बाढी, पहिरो, डुबान र चट्याङलगायत ४३९ वटा मनसुनजन्य घटना भएका छन्। मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएको र त्यसबारे विवरण संकलन भइरहेको उनले बताए।

‘यस्तो संकटको घडीमा प्रत्येक नागरिकको जीवन रक्षा गर्दै उहाँहरूलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य हो,’ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भने, ‘त्यसैले बेपत्ता नागरिकको खोजीका साथै बाढीमा फसेका मानिसहरू र पशुचौपायाको उद्धारमा हाम्रा सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ।’

बाढी-पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको प्रधानमन्त्री शाहले बताए। नागरिकको जीउधन बचाउन सूचना तथा सन्देश सम्प्रेषण गर्नुका साथै सुरक्षाकर्मीले स्थलगत रूपमा माइकिङ गरिरहेको उनले जानकारी दिए।