नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचारको नायकलाई नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)को महानिर्देशक बनाउने काम भएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा खनालले पार्टी सरकारमा गएका बेला क्यानको महानिर्देशकमा भ्रष्टाचारको नायकलाई नियुक्त गर्ने काम भएको बताएका हुन् । उनले महानिर्देशकले कस्तो काम गरेको छ भन्ने छानविन गर्नुपर्ने जिकिर गरे । भ्रष्ट व्यक्तिलाई क्यानको महानिर्देशक पदमा नियुक्त गर्ने सिफारिसकर्ताको अनुहार पनि अब बाहिर आउने उनले बताए ।
यसअघि सार्वजनिक लेखा समिति बैठकमा तत्कालिन पर्यटनमन्त्री प्रेम आलेले झलनाथ खनालको दबाबमा आफुले क्यानको महानिर्देशक नियुक्त गरेको आरोप लगाएका थिए । सम्मानीत नेता खनालले आफुले पार्टी सदस्यता लिएपछि देशमा कुनै गलत काम नगरेको स्पष्ट पारे ।
उनले कम्युनिष्ट पनि हुँ भन्ने र कमिशनमा मुख गाड्ने कुरा सुहाउदो नभएको उल्लेख गरे । महानिर्देशक नियुक्त गर्दा सिनियर र योग्यको ख्याल नगरि तत्कालिन मन्त्री र प्रधानमन्त्रीको हितमा काम गर्नेलाई नियुक्त गरिएको उनले बताए ।
उनले पार्टीको महाधिवेशन भएको लामो समय भइसक्दा पनि नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई प्रकाशन नगरिएको भन्दै आपत्ति जनाए । उनले नेताहरुले गरेको कमजोरीका कारण प्रतिगमनकारीहरु सक्रिय भएको जिकिर गरे । यस्तै अवस्था जारी भए ज्ञानेन्द्र शाह आएर नारायणहिटी बस्दैन भन्ने ग्यारेन्टी नरहेको उनको भनाइ छ । उनले प्रतिगमनलाई रोक्ने हो भने देशलाई आमूल परिवर्तन गर्ने कार्यक्रम र पहलकदमी आवश्यक रहेको बताए ।














