राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले राजावादीको प्रदर्शनमा पुगेर पनि आफू त्यहाँबाट भागेको बताएका छन् ।
आज बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा घटनाको निष्पक्ष छानबिनको माग गर्दै सांसद तामाङले तीनकुनेको मञ्चमा पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंको बराबरको फोटो देखेपछि आफू फर्किएको बताएका छन् ।
‘हाम्रो पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनज्यू, ज्ञानेद्र शाहीसहित हाम्रो ग्रुप नै थियो । हामी प्रदर्शनमा जाने कुरा भइरहेको थियो । तर, मञ्चतिर हेर्दा त राजाको फोटो, अनि त्यही साइजको दुर्गा प्रसाईंको फोटो राखेको देखियो,’ उनले भने, ‘ओहो, खत्तम रहेछ भन्ने लाग्यो । हामी गएनौँ । आन्दोलनलाई समर्थन गर्ने भनेरमात्र हुँदो रहेनछ । हाम्रोबाट अध्यक्ष जानुभएन, धेरैजना जानुभएन । मैले पनि यसो हेरेको दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ नि । फोटो देखेर डर लागिहाल्यो नि ।’
उनले यस्ता घटनाको तुरुन्तै छानबिनको पनि माग गरे । उनले प्रदर्शन कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले अश्रुग्यास प्रहार गरेको दाबी गरे ।
तामाङले अब राजावादीको जथाभावी कार्यक्रममा राप्रपा सहभागी नहुने बताए ।
‘कसको कार्यक्रम क्लियर हुनुपर्यो, जथाभावी कार्यक्रम गर्ने हो भने हामी सहभागी हुन्नौं भनेर बैठकबाट निर्णय पास गर्यौं’, उनले भने, ‘तर त्यो घटनाको तुरुन्त न्यायिक जाँच होस् । राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकारवादीबाट जाँच होस् ।’















