राजावादीको प्रदर्शन हिंसात्मक, उच्छृंखल, अमानवीय: गृहमन्त्री (भिडियो)

समाजवादी मोर्चाको प्रदर्शनबारे गरे प्रशंसा

Image

राजावादीहरूले चैत १५ मा आगजनी, तोडफोड र लुटपाट मच्चाएको विषयमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा जानकारी गराएका छन् ।

गृहमन्त्री लेखकले उक्त प्रदर्शन हिंसात्मक प्रदर्शन संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित रहेको बताए । शुक्रबार संसद्‍को राज्य व्यवस्था समितिमा बोल्दै उनले सत्ताधारीहरुलाई खबरदारी गर्ने र आलोचना गर्ने उद्देश्यबाट भन्दा पनि राजावादीको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधान उल्ट्याउने उद्देश्यबाट प्रेरित रहेको आरोप लगाएका हुन् ।

‘ज्ञानेन्द्र शाहको फागुन ७ को अभिव्यक्ति र २५ गतेको प्रदर्शनले पनि त्यसको संकेत गरेको थियो,’ गृहमन्त्री लेखकले भने, ‘आन्दोलनको नेतृत्व गरिरहेका लिडरहरुका अभिव्यक्तिले पनि राजावादीको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधान उल्ट्याउने उद्देश्यबाट प्रेरित रहेको पुष्टि हुन्छ ।’

उनले चैत १५ गते काठमाडौँका दुई ठाउँमा प्रदर्शन भएको भन्दै समाजवादी मोर्चाले भृकुटीमण्डप मा गरेको प्रदर्शनको प्रशंसा गरे ।

‘माओवादीसहितको समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रम सभ्य र भव्य थियो । त्यहाँ विचार प्रस्तुति भयो। सरकारको आलोचना गर्न पाइन्छ । त्यो कार्यक्रममा मोर्चाका नेताहरुले सरकारको आलोचना गर्नुभयो, त्यसको हामी सम्मान गर्छौँ । समाजवादी मोर्चालाई धन्यवाद छ,’ गृहमन्त्री लेखकले भने, ‘तर, तीनकुनेको कार्यक्रम समाजवादी मोर्चाको भन्दा विपरित थियो । हिंसात्मक, उच्छृंखल, अमानवीय र अमर्यादित थियो त्यो कार्यक्रम ।’

उनले राजावादीको आमानवीय प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र स्वास्थ्य लाभको कामना गर्दै घाइते सबैको निःशुल्क उपचार गरिने बताए । ‘मृतक दुईजनाका आश्रित परिवारलाई १० लाखका दरले राहत दिने निर्णय सरकारले गरिसकेको छ,’ गृहमन्त्री लेखकले भने ।

उनले राजावादी समूहका नेता र अगुवाहरुले नेताहरुलाई लुक्ने ठाउँ खोज्न चुनौति दिएका र त्यही अनुसार अराजकता सिर्जना गरेको बताए । संविधानले दिएको विचार अभिव्यक्तिको स्वतन्त्रता, राजनीतिक विचार, भेलाहरुको उपयोग गर्न पाउने अधिकार विपरितका गतिविधि राजावादीबाट भएका उनको भनाई छ ।