तीन दिनदेखिको वर्षाका कारण गएको पहिरोमा परी पाल्पामा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईका अनुसार, पहिरोमा परी माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो ।
रिब्दीकोट–६, ठिमुरेमा पहिरोले घर पुरिँदा बेपत्ता भएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । माथागढी–२ रुप्से रजौलीका चिदीको भने घरमाथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
माथागढी गाउँपालिका–३ कसेनीमा आइतबार बिहान करिब ५ बजे पहिरोले लिलबहादुर घर्तीमगरको घर पूर्णरूपमा पुरेको छ । घरमा सुतिरहेका लिलबहादुर घर्ती, झरना घर्ती र दिना घर्ती बेपत्ता भएका वडाअध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिए । उनीहरूको खोजी भइरहेको छ ।
बाढी र पहिरोका कारण विद्युत् सेवा अवरुद्ध हुँदा पाल्पाका अधिकांश स्थानमा सञ्चार सम्पर्कसमेत प्रभावित भएको छ ।
अविरल वर्षाका कारण पाल्पाको प्रमुख अन्न भण्डारका रूपमा रहेको माडीफाँटसमेत डुबानमा परेको छ । झडेवा फाँटलगायत क्षेत्रमा बाढीको पानी पसेपछि धानबालीमा क्षति पुगेको छ ।
वर्षाका कारण रानीमहल क्षेत्रमा रहेका होटल तथा रेस्टुरेन्टमा बाढीको पानी पसेको जनाइएको छ ।
पहिरोका कारण जिल्लाका विभिन्न बस्तीसमेत जोखिममा परेका छन् । माथागढी गाउँपालिका–४ झडेवाको देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ घरपरिवार उच्च जोखिममा परेका छन् ।
यस्तै, सदरमुकाम जोड्ने हार्थोक–छहरा, बासटारी–झडेवा, आर्यभञ्ज्याङ–रामपुरलगायत ग्रामीण सडकका दर्जनौँ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका छन् । उद्धार तथा सडक खुलाउने काम प्रभावित क्षेत्रमा जारी रहेको प्रहरीले जनाएको छ ।













