पत्रकारलाई संसदीय समितिको बैठकमा रोक लगाउन एमाले सांसद पन्तको माग (भिडियो)

उपसमितिको प्रतिवेदन बाहिर ल्याएको भन्दै आक्रोशित

Image

नेकपा (एमाले)का सांसद रघुजी पन्तले पत्रकारलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

सांसद पन्तले पत्रकारको कारण मिथ्या सूचना फैलिने डरले सरकारी कर्मचारी समितिमा आएर बोल्ने अवस्था नरहेको बताए ।

पन्तले आफूले अन्तर्राष्ट्रिय अभ्यास हेरेको बताउँदै समिति बैठकमा पत्रकारलाई प्रतिबन्ध लगाएर फाइनल रिपोर्टमात्रै दिनुपर्ने जिकिर गरे । उनले आफूहरूले भ्रष्टाचारीलाई जोगाउन भने नखोजेको स्पष्टीकरण दिए ।

‘यहाँ मिस इन्फरमेसन हुन थाल्यो । अर्को पटक को मुख्यसचिव आउँछ ? जसले यहाँ बोलेको कुरा बाहिर अपव्याख्या भएर उसको विरुद्धमा नारा लाग्न थालेपछि कुन मुखले मुख्यसचिवले आएर बोल्छ ? को कर्मचारी आएर बोल्छ समितिमा ? हामीले उत्तरदायी हुनुपर्दैन ?,’ सांसद पन्तले भने, ‘इन्टरनेशनल प्राक्टिस पनि हेरौँ हामीले यत्तिकै भनेको होइन । मैले अमेरिका, क्यानडा, अस्ट्रेलियाको प्राक्टिस हेरे । पत्रकारको लागि १०० मा १०० प्रतिशत कुनै पनि बैठक खुला हुँदैन । भारत र बङ्गलादेशमा समितिको बैठकमा प्रेसलाई नो इन्ट्रि छ ।’

समितिले पारित नै नगरेको ‘भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने’ विषय बाहिर आएकोप्रति उनको आपत्ति थियो । संसदीय उपसमितिले अवकाश प्राप्त निजामती कर्मचारीलाई भ्रष्टाचार लगायतका कसुरमा दोषी ठहर भएपनि पेन्सन सुविधा पाउने गरी प्रतिवेदन तयार पारेको थियो ।

उक्त प्रतिवेदन समितिमा नै नआएको र पारित नै नभइ सञ्चारमाध्यममा प्रकाशित भएको भन्दै सांसद पन्तले यसबारे गम्भीर हुन आग्रह गरे ।