सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन: माओवादी (भिडियो)

Image

नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको टिप्पणी गरेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि प्रसाद सापकोटाले सरकारले राजनीतिक रूपमा आफ्नो वैधानिकता गुमाइसकेको बताए ।

आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको सापकोटाले टिप्पणी गरे ।

वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको माओवादीको आरोप छ ।

‘वर्तमान दुईदलीय गठबन्धन सरकारले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार विरोधी अभियानलाई उल्ट्याएको मात्र छैन, सुशासन कायम गर्न लागेका अधिकारीहरूलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको छ’, सापकोटाले भने, ‘आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरूप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको श्रृङ्खला नै खडा गरेको छ ।’

सरकारले आजसम्म जे जस्ता निर्णय गरेको छ ती सबै बिचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्रय हित विपरीत गरेका माओवादीको गम्भीर आरोप छ ।