पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन

सन् १९६० मा भएको सिन्धु जल सम्झौता पनि स्थगित

Image

भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घन्टाभित्र देश छाड्न आदेश दिएको छ ।

जम्मू-कश्मिरको पहलागाममा मंगलबार भएको आतंकवादी हमलापछि बुधबार बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले दुई दिनको समय दिएर भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न भनेको हो ।

भारतले नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिएको छ । ४८ घन्टाको समयसिमा सार्क राष्ट्र विशेष भिसा (एसभिइएस) उपयोग गरी भारत आएका पाकिस्तानीहरूलाई लागु हुनेछ । भारतले त्यस्ता भिसा जारी नगर्न र जारी भएकाहरू पनि रद्द हुने निर्णय गरेको छ ।

साथै, भारतले पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।

यस्तै, विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताए अनुसार भारतले सन् १९६० मा गरिएको ‘इन्डस जल सम्झौता’ तत्काल स्थगित गर्ने निर्णय गरेको छ । उनले भने, ‘जबसम्म पाकिस्तानले सीमा-पार आतङ्कवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहनेछ ।’

इन्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन-तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो । सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न हुने समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएको थियो ।

साथै, भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ । यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई मे १ अगाडि फर्किन छुट दिइएको छ । यो सीमा नाका प्रतीकात्मक रूपमा निकै महत्वपूर्ण मानिन्छ, जहाँ हरेक साँझ भारत–पाकिस्तानका सैनिकहरूबीच हुने परेडले दुई देशबीचको प्रतिस्पर्धालाई दर्शाउने गर्छ ।