चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा मोबाइलले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असर समेटिएको छ ।
डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरको कथामा फिल्म बनेको बुझ्न सकिन्छ ।
स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक तथा सन्तानबीच बढ्दो दूरीको कथा सिनेमाले भन्ने संकेत गरेको छ ।
वैशाख १९ गते रिलिज हुने चलचित्रको प्रमुख कलाकारमा आयुषी ढकाल छिन् । उनीसँगै सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभिस श्रेष्ठको पनि अभिनय छ ।
चलचित्रलाई यादवकुमार भट्टराईले निर्देशन गरेका छन् । निर्देशक भट्टराईका अनुसार ‘झिल्को’ एक बालिकाको डिजिटल लतको यात्रामार्फत प्रविधिको असावधानीपूर्ण प्रयोगले निम्त्याउने सङ्कटबारे दर्शकलाई सचेत गराउने प्रयास हो ।














