मुगु — हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा जडीबुटी (कटुको) संकलन गर्न गएका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाका अनुसार मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट कटुको संकलनका लागि हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको हो।
प्रहरीका अनुसार भदौ २८ गते १३ जना स्थानीय कटुको संकलनका लागि बागेढुंगा सामुदायिक वन पुगेका थिए। उनीहरूले जडीबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न रोक लगाएपछि उनीहरू फर्किएका थिए।
फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीको प्रारम्भिक जानकारी छ।
नौ जना सम्पर्कविहीन
प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजंग बढुवाल, ३५ वर्षीय जयबहादुर बढुवाल र २६ वर्षीय अेखबहादुर रोकाय सम्पर्कविहीन छन्।
त्यस्तै, छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासी शेरबहादुर बुढाका अनुसार पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आएका छन्।
सीमाक्षेत्रमा विवाद भएको दाबी
स्थानीयका अनुसार मुगुको पाटन क्षेत्रमा जडीबुटी संकलन गरिरहेका उनीहरू हुम्लाको सीमाक्षेत्रमा पुगेपछि दुई समूहबीच विवाद तथा झडप भएको थियो। स्थानीयले असोज १० गते झडप भएको बताएका छन्।
मुगुतर्फबाट कटुको संकलन गरिरहेको टोलीलाई हुम्लातर्फको सामुदायिक वन समूहका मानिसले लखेटेको आरोपसमेत मुगुका स्थानीयले लगाएका छन्। यद्यपि, झडप तथा लखेटिएको घटनाबारे प्रहरीले विस्तृत पुष्टि गरिसकेको छैन।
घटनाबारे जानकारी पाएलगत्तै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले बताएका छन्। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भइरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको उनको भनाइ छ।
‘अग्लो हिमाल काटेर आउनुपर्ने र हिउँ धेरै भएकाले सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘हिउँबाट भाग्ने क्रममा एक जनाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।’
मिनी क्षेत्र हुम्ला र मुगु दुवै जिल्लाको सीमाक्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था बुझ्न दुवैतर्फका सुरक्षा निकायले खोजी तथा अनुसन्धान अघि बढाएका छन्।
सम्पर्कविहीन नौ जनाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।














