पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। लगातारको वर्षापछि विभिन्न स्थानमा गएको पहिरोमा परी तीन जना बेपत्ता भएका थिए। उनीहरूको शव भेटिएसँगै मृतकको संख्या पाँच पुगेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्तीको शव पहिरोबाट निकालिएको हो।
यसअघि आज बिहान पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो।
चिदीलाई पहिरोमा परी घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाल्पा पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। सारुको भने पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको प्रहरीले जनाएको छ।
निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोले माथागढी–३ का लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरिएको थियो। घरभित्र सुतिरहेका उनीहरू पहिरोमा पुरिएपछि बेपत्ता भएका थिए।
सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा उद्धार टोलीले पहिरोबाट तीन जनाको शव निकालेको हो। मृत्यु भएका पाँचै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो।
लगातारको वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेकाले स्थानीय प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ।













