सर्वसाधारण कुट्ने चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो, भिडियो गत मंसिरको

Image

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एक पुरुषमाथि ट्राफिक प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनामा संलग्न चार ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार उक्त घटना गत मंसिर २३ गते सुन्धारास्थित आकाशे पुलमुनि भएको अनुसन्धानले देखाएको छ ।

उनले घटनाको गम्भीरताप्रति ध्यानाकर्षण भएको जनाउँदै चारै जना ट्राफिक प्रहरीलाई जनसेवा ट्राफिक प्रहरी वृत्तको जिम्मेवारीबाट हटाएर कार्यालयमा झिकाइएको जानकारी दिए ।

प्रहरी उपरीक्षक गिरीले उनीहरूमाथि आवश्यक छानबिन र अनुसन्धान भइरहेको बताए ।

“सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित भिडियोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रारम्भिक अनुसन्धानबाट मंसिर २३ गते सुन्धारामा उक्त घटना भएको देखिएको छ । संलग्न ट्राफिक प्रहरीहरूलाई जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरिएको छ,” उनले भने ।

एक जना व्यक्ति कुटिएको भिडियो बिहीबार बिहानैबाट सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सार्वजनिक भिडियोमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूले एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको छ ।