चितवनमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित इन्द्रपुरी बस्ने स्कुटर चालक ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित प्रेमबस्ती चोकमा भरतपुरतर्फ गइरहेको ना५च २६४४ नम्बरको बलेरोले सोही दिशातर्फ गइरहेको ना५४प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि बोलेरो सडकमै पल्टिएको थियो । पल्टिएको उक्त बोलेरोले स्कुटरमा सवार महिलालाई समेत किचेको थियो । जिल्ला प्रहरी कार्यालय चितवन अनुसार शुक्रबार दिउँसो साढे एक बजेको समयमा सो दुर्घटना भएको थियो ।
सो क्रममा महिलाको निधन भएको प्रहरीले जनाएको छ । बोलेरो चालक मकवानपुरको मनहरी गाउँपालिका ६ का २५ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।