लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई–मधेशका नेताहरुमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु–मधेशी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाए । उनले आफुहरुमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले त्यसलाई नसुनेको भन्दै अब सुनाउने ठाँउ नरहेको बताए ।
ठाकुरले आफुहरुमाथि सार्वजनिक रुपमा भएको दुव्र्यवहारका घटना अब संसदमार्फत नागरिकलाई सुनाउने जिकिर गरे । उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकता विथोल्न सरकारले अन्यायपूर्ण व्यवहार गरेको भन्दै संसदमा विरोध जनाएका छन् ।
रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घन्टासम्म जेलमा राखेर दुव्र्यवहार गरिएको ठाकुरको भनाई छ । ‘हालै थारू नेता रेशमलाल चौधरी र सिके राउतसँग जुन व्यवहार भएको छ त्यो अन्यायपूर्ण छ । फल्स चिठ्ठी देखाएर चौधरीलाई पाँच घण्टासम्म जेलमा राखेर पीडा दिए । यो अन्यायपूर्ण छ,’ ठाकुरले भने ।
ठाकुरले राज्यले विजेताको रुपमा आफुलाई प्रस्तुत गरेको र विजेता नै न्यायको कुर्सीमा बसेका कारण आफुहरुले न्याय पाउन नसकेको गुनासो गरेका छन् । ‘यस किसिमको व्यवहारले हामीले न्याय कहाँ पाउने ? राज्य विजेताको रुपमा बसिरहेको छ’, उनले भने ।