नागढुंगा-नौबिसे सडकको पिप्लामोड खण्ड आज रातिदेखि १० दिन आंशिक रुपमा बन्द हुने भएको छ । राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने छ ।
वैशाख ३१ गतेसम्म सडक बन्द गरेर काम गरिने भएकाले उक्त अवधिभर वैकल्पिक मार्गहरु प्रयोग गर्न सार्वजनिक सूचना गरेर सबैमा जानकारी गराइएको नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।
अहिले १ दशमलव ८ किलोमीटरमा सडक सुधार गर्न लागिएको हो । रातिको समयमा उक्त खण्डको पुरानो कालेपत्रे पूरै भत्काइने भएकाले तोकिएको समयमा अत्यावश्यक बाहेकका अन्य सवारी साधन नचल्ने प्रमुख ओझाले बताए ।
अहिले नागढुंगादेखि मुग्लिनसम्म तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नतिको काम भइरहेको छ । यो सडक भएर दैनिक १० हजार बढी सवारीसाधन ओहरदोहर गर्छन् ।