बाल मन्दिर जग्गा अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन

उपप्रधानमन्त्री सिंहकी दिदी रिता वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चलाइने

Image

महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित बाल संगठन (बाल मन्दिर)को जग्गा हिनामिनाको घटनामा संलग्नहरूलाई मुद्दा चलाउन निर्देशन दिएको छ ।

बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयको राय उल्ट्याउँदै महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउन निर्देशन दिने निर्णय गरेको हो ।

उक्त निर्णयपछि उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रिता वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चल्ने भएको छ ।

नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा हिनामिना भएको बताइएको छ । कौडीको मूल्यमा ७९ वर्षका लागि बाल मन्दिरको जग्गा भाडामा दिएर व्यक्तिगत रुपमा आर्थिक लाभ लिएको प्रतिवादीहरुमाथि आरोप छ ।

उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय र उच्च सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो ।