नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ । आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।
अख्तियार स्रोतका अनुसार बुधबार छापा मारेर आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीको आइफीओ निस्कासन सम्बन्धी प्रक्रियाबारेकाे विवरण लिइएको हो ।
निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीका अनुसार हरेक कम्पनीको आईपीओ निष्कासनमा सर्वसाधारणलाई सेयर जारी हुने रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरिएको छ । अख्तियारका तीनजना कर्मचारी बुधवार दिउँसो बोर्डमा गएर सोधपुछ गरी विवरण लिएर गएको बोर्ड स्रोतले पनि पुष्टि गर्यो ।
४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृति क्रममा रहेकामा त्यसमध्ये ४२ कम्पनीसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पठाएका भनिएका व्यक्तिहरूले रकम माग गरेको विद्युत् कम्पनीहरूले पुष्टि गरेका छन् ।














