भारतले पाकिस्तानी भूभागमा लक्षित गरी सुरु गरेको ‘अपरेसन सिन्दूर’ जारी रहेको जनाएको छ ।
बिहीबार दिल्लीमा केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो । बैठकपछि केन्द्रीय संसदीय मामिलामन्त्री किरेन रिजिजूले सर्वदलीय बैठकमा रक्षामन्त्री सिंहले सबैलाई ‘अपरेसन सिन्दूर’ का बारेमा जानकारी दिएको बताए ।
किरण रिजिजुले भने,‘अपरेशन सिन्दूर एक निरन्तर अपरेशन हो ।’ बैठकमा सबै नेताहरुले गम्भीरतापूर्वक आ–आफ्नो विचार राखेको उनले बताए ।
उनले भने, ‘रक्षामन्त्रीले अपरेशन सिन्दूरको बारेमा सबै नेताहरूलाई जानकारी गराउनुभयो । उहाँले सम्पूर्ण परिस्थिति र सरकारको मनसायको बारेमा बताउनुभयो । विभिन्न दलका नेताहरूले पनि आफ्ना विचार राखे र केही सुझाव दिए ।’
मन्त्री रिजिजुले सबै नेताहरूले सेनाको हरेक कार्यमा समर्थनको आश्वासन दिएको बताए ।
भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । त्यस्तै भारतीय आक्रमणमा परी ५७ जना घाइते भएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन् ।












