काठमाडौं । गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।
सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’
माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ । घेरा हालेर सिध्याउने कोशिश भएपनि त्यसलाई तोड्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ ।’
प्रधानमन्त्री प्रचण्डले कसैलाई आफूलाई उपयोग गर्न खोजे जुनसुकै बेलामा पनि लात्ताले हान्नसक्ने बताएका छन्।
‘राष्ट्रप्रति इमानदार हुने कुरामा निरन्तर कायम छु, प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने कुनैपनि बेला लात्ताले हानेर निस्कन सक्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूको लागि म विश्वसनीय छैन, हुन पनि परेको छैन। आजको दिन हरेक हरेक दृष्टिकोणले क्रमभंगको दिन बन्न गएको छ।’
साथै, उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेदेखि सहिद परिवारका सदस्यलाई रोजगारी दिने संकल्प समेत गरेका छन्। ‘क्रान्तिकारीजति एक ठाउँमा हुनैपर्छ, अरु कुनै उपाय छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।