गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ । शनिबार विज्ञप्ति निकाल्दै मन्त्रालयले यसबारे सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न आग्रह समेत गरेको छ ।
‘यस्ता कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।’
यो विषयको गम्भीरतालाई मध्यनजर गरी सत्य तथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिन गृह मन्त्रालयले अनुरोध गरेको छ।
‘मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले अनुसन्धान कार्य पूरा भएपछि सत्य तथ्य ब्यहोरा सबैको जानकारीमा आउने गृह मन्त्रालयले विश्वास व्यक्त गरेको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आयोगबाट हुने छानबिन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
यो प्रकरणमा कम्तिमा १४ कर्मचारी आयोगको छानबिनमा परेपछि शुक्रबार गृहमन्त्रालयले उनीहरुलाई जिम्मेवारीबाट हटाएको थियो।गृहमन्त्रीको मञ्जुरीबिना यस्तो काम हुननसक्ने भन्दै धेरैले गृहमन्त्री लेखकमाथि छानबिन थाल्नुपर्नेमा दवाव बढाएका छन् ।
















