बर्दियाको मधुवनमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । दुर्घटनामा अर्को एक जना गम्भीर घाइते भएका छन् ।
हुलाकी सडकखण्डअन्तर्गत मधुवन नगरपालिका-८ स्थित लालसिंहचोकमा शनिबार राति देवानन्द यादवले चलाएको भे१३प २६६९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको टंकबहादुर बीसीले चलाएको भे६प ५४१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा बर्दिया मधुवन नगरपालिका- ८ लालीबजारका ३२ वर्षीय बीसी र गुलरिया नगरपालिका-२ का यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र डमरपालले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा दुवै चालक गम्भीर घाइते भएका थिए । उपचारका क्रममा जिल्ला अस्पताल गुलरियामा आइतबार उनीहरूको मृत्यु भएको हो ।
दुर्घटनामा यादवले चलाएको मोटरसाइकलमा पछाडी सवार गुलरिया नगरपालिका-२ का ३३ वर्षीय अनुपम यादव गम्भीर घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
रातको समयमा तीव्र गतिमा रहेका मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।











