उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

Image

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री शाहले ग्यास वितरणमा समस्या देखिएपछि गुनासो सम्बोधन तथा सहजीकरणका लागि ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको र अव क्रमशः ग्यासको अभाव हट्दै जाने दाबी समेत गरे ।

आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण र रिफिलिङको समस्या, डिलरहरूको असमान वितरण, खाली सिलिन्डर फिर्तामा ढिलाइ, कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तरनिकाय समन्वयको कमी भएका कारण ग्यासमा अभाव देखिएको मन्त्रालयको निष्कर्ष रहेको उनले बताए । 

उनले बढ्दो माग र चाडपर्वलाई लक्षित गरी ३ महिनासम्म प्रतिमहिना ६० हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन भारत सरकारसँग औपचारिक पत्राचार गरिएको जानकारी दिए ।

मन्त्री साहले आपूर्ति व्यवस्थालाई दिगो बनाउन मन्त्रालयभित्र आन्तरिक समिति गठन गरी आवश्यक मार्गनिर्देशन तयार गर्न लागिएको उल्लेख गरे ।

दीर्घकालीन आपूर्ति व्यवस्थापन, पूर्वाधार विकास र वैकल्पिक समाधानका लागि नीतिगत योजना निर्माण गर्न राष्ट्रिय योजना आयोगलाई औपचारिक पत्राचार गरिएको समेत उनले बताए ।