नेपाली सेनाले २०७९ चैत १४ गतेदेखि सुरु गरेको सफा हिमाल अभियान-२०२३ सम्पन्न भएको छ । सेनाले अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालको सफाई कार्य सम्पन्न गरेको हो ।
उक्त अभियानबाट ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य लिएकोमा सगरमाथा तथा ल्होत्से हिमालबाट १३ हजार ६२१ केजी, अन्नपूर्ण हिमालबाट ३ हजार ५६७ केजी र बरुञ्चे हिमालबाट १८ हजार ५२० केजी गरी जम्मा ३५ हजार ७०८ केजी फोहोर संकलन गरिएको थियो ।
संकलित फोहोरहरु विभिन्न निकायलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गरे। उक्त सफाइ टोलीमा संलग्न फूर्वा शेर्पा र आङकामी शेर्पाको भने हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।
प्रधानसेनापति शर्माले सो अवसरमा उनीहरूका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षासम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले व्यहोर्ने घोषणा गरे । वातावरण दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा हिमाल आरोहणका क्रममा ज्यान गुमाउनको आत्माको चिरशान्तिको कामना गर्दै लामा गुरुले शान्ति पाठ गरे ।
यस अभियानमा संलग्न नेपाली सेनाका पाँच जनाले सगरमाथा र चार जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका थिए ।














