तीनकुने घटना : रवीन्द्र र धवलशमशेरविरुद्ध समान चार कसुरमा मुद्दा

Image

काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका आरोपित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध चार कसुरमा मुद्दा दायर भएको छ ।

उनीहरू दुवैविरुद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

काठमाडौँ जिल्ला प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरूसहित ६२ जना विरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

१५ चैत २०८१ राजसंस्था पक्षधरहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान गएको थियो भने लुटपाट र आगजनी भएको थियो ।

लामो समय हिरासतमा रहेका धवललाई उपचारका लागि भन्दै सरकारी वकिलको राय लिएर प्रहरीले छाडेको थियो । अहिले हिरासत बाहिर रहेका उनीविरुद्ध मुद्दा गरिएको हो ।

यस्तै रवीन्द्रलाई प्रहरीले ५० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेको थियो । सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । त्यसपछि अहिले उनी हिरासत बाहिरै छन् ।